Newsportal

कंगाल बनाउने अस्थिरताका श्रृंखला

644

डा. जशवीर माझी
नेपाल राष्ट्र यतिखेर कंगालीको डरलाग्दो चरणमा पुगेको छ । खर्बौ विदेशी ऋणले संघीय संरचनाका नेता पाल्नु पर्ने बाध्यताले अब नेपाल चाडै नै आर्थिक रुपले दिवालीया असफल राष्ट्र घोषणा हुने संघारमा आइपुगेको छ । तीन करोड पनि जनसंख्या न नाघेको नेपालका ५० लाख भन्दा बढी शसक्त जनशक्ति विदेशी कामदार हुन बाध्य हुनु भनेको प्राकृतिक सम्पदाका दृष्टिले ठूलो अपराध हो । ठूलो राष्ट्र घात र जनघात हो । नेपालको अर्थतन्त्र पूर्णरुपमा पर निर्भर भएको छ । चामल, दाल, पिठो, तरकारी, माछा, मासु, दुध, घिउ, तेल, लसुन, प्याज, खुर्सानी मात्र होइन कि हरियो धनिया समेत चीन भारत लगायत विदेशबाट आयात गरेर जीवन धान्न बाध्य हुनु परेको यो भन्दा आर्थिक कंगाली र दिवालीया अरु के हुन सक्छ ? आर्थिक रुपको यो हदसम्म पर निर्भर हुन पुगेको राष्ट्रले सार्वभौमिकताको गुड्डी हाक्नु हदैसम्मको पाखण्ड, निर्लज्जता मात्र हो । कमसेकम खाद्यवस्तु, पेटभर्नेमा मात्रै भए पनि आत्मनिर्भर नभइ सार्वभौमिकताको कुरा गर्नु बेइमानी मात्र हो ।

०७ सालको क्रान्तिदेखि यताको समयमा मात्र प्राकृतिक सम्पदाका दृष्टिले नेपालभन्दा धेरै खतम राष्ट्र जापान र सिङ्गापुरले समृद्धिको शिखर चुमिरहेका पृष्ठभूमिमा नेपालले भने किन यस्तो दुर्गति बेहोर्नु परिरहेको हो ? अब यो प्रश्नको ठीक उत्तर खोज्नु पल पल र क्षण क्षण ढिलाइ भइरहेको छ । यो प्रश्नको ठीक उत्तर फेला परेर त्यसबाट पाठ न सिकेसम्म आर्थिक क्रान्ति र विकासको कुरा गर्नु भुक्याउनु र ढाट्नु मात्र हो । नेपाल राष्ट्रले यसरी परनिर्भर अर्थतन्त्रको फलामे जंजीरमा जकडिन विवस हुनु परेको निर्णायक कारण राजनीतिक अस्थिरता नै हो । राजनीतिक अस्थिरताले अराजकता (राज्यविहीनता) र अराजकताले द्वन्द्व बढाउने हुँदा विकासको गतिले खाल्डोमा मात्र पु¥याउने निश्चित हुन्छ । राजनीतिक अस्थिरताका कारण नै नेपाल राष्ट्र आजको जस्तो कंगाली र दिवालीया हालतमा पुगेको विगत अस्थिरताका श्रृंखलाबाट पुष्टि र प्रमाणित हुन्छ ।

पंचायति राजको कुरा यहाँ न गरौं । त्यस कालखण्डमा राजाको एउटा अनुशासन थियो । प्रजातन्त्र न भए पछि त्यसका मूल्य मान्यताहरु न हुनु स्वभाविक भइहाल्यो । त्यही प्रजातन्त्रका लागि ३० वर्ष संघर्ष भएर पंचायति राज ढल्यो । ०४७ को संविधान आयो । तर ०४७ को संविधान आएर त्यसको अन्त्यष्ठी ०६३ को जन आन्दोलन आउनु अघिसम्म त्यस १६ वर्षको अवधिमा प्रजातन्त्रका नामको मनपरितन्त्र र लुटतन्त्रले सिंहदरबारको शीर चढेर यत्रो ताण्डव नृत्य मच्चायो कि त्यसका विरुद्ध १७ हजार भन्दा बढी नेपाल आमाका सपुतहरुले आहुती र बलिदान हुन पुग्यो । पंचायतमा प्रजातन्त्र न भए पनि एकखालको राज्यसत्ता त थियो भन्ने अव त इतिहासमा अभिलेख पनि भइसकेको छ । त्यस १६ वर्षको अवधिमा चालु संसदीय प्रणालीका दृष्टिले पनि बढी भन्दा बढी चार–पाँच पटक सरकार बदलिनु पर्नेमा १३ पटक सरकार बदलिए । त्यसमा १३ महिनाको कृष्णप्रसाद भट्टराई र ९ महिनाको मनमोहन अधिकारी सरकारवाहेक अरु सबै कालखण्ड लुटतन्त्र र मनपरितन्त्रको पर्याय नै हुन पुगेको हो । यो सबै भएको गिरिजाप्रसाद कोइरालाको बहुमतको एकलौटी सरकार ढालेर मध्यावधिमा जानुले थियो । मध्यावधिको परिणाम कांग्रेस दोस्रो शक्तिमा झरेर पूर्व पञ्चहरुको पार्टी राप्रपासँग मिलेर कांग्रेसले सरकार चलाउन थालेपछि लुटतन्त्र र मनपरितन्त्रको यस्तो श्रृंखला सुरु भयो कि त्यसको वाइप्रडक्ट माओवादी हिंसाको १० वर्षे रगतपच्छे दुर्भाग्यमा राष्ट्र न राम्रोसँग फस्यो । त्यस कालखण्डमा कांग्रेसले सूर्यबहादुर थापा र एमालेले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री (निर्दलका प्रधानमन्त्री) बनाएर लुटतन्त्रको यत्रो ताण्डव नृत्य मच्चाएकि विगत लाउडा प्रकरणका सबै अध्याय फिका हुन पुग्यो । यसरी कांग्रेस एमालेले आफैलाई पुर्ने नौफिट गहिरो खाल्डो खनेर त्यसमा हामफालेका राजा ज्ञानेन्द्रले पुरपार गर्ने सुरकसेकामा माओवादी अगाडि आएर हात दिए । मानिस ७ फिटसम्म खाल्डोमा परे आफ्नै हात बढाएर पनि निस्किन सक्छ, तर ९ फिट गहिरो खाल्डोमा पुगेपछि भने त्यहाँबाट निस्किन कसैले हात दिनु आवश्यक हुन्छ । तर काग्रेस एमाले माओवादीको साथ पाएर आफू जोगिए पनि ०४७ को संविधानलाई भने जोगाउन सकेनन् ।

०४७ को संविधान खाल्डोमा पुरिए पछि राष्ट्रिय राजनीतिमा माओवादी हावी हुन स्वभाविक थियो । तर ०६४ को संविधानसभा भएर ‘महानिर्वाचन ०४७’ सम्मको १० वर्षको अवधि माओवादी नायकत्वको कालखण्डमा झन कुरुप र घातक अस्थिरता देखियो । १० वर्षमा चालु प्रणालीका भागवण्डा दृष्टिले बढीमा ३÷४ पटक प्रधानमन्त्री फेरिनु पर्नेमा ११ पटक प्रधानमन्त्री फेरिए । १६ वर्षे कालखण्डका गिरिजाप्रसाद नायक देखिएका थिए भने यो कालखण्डमा मिष्टर प्रचण्ड नायक भएका छन् । प्रधानमन्त्री भए लगत्तै सेनामा हुकुमत पु¥याएर कम्युनिष्ट सर्वसत्तावाद लाद्ने अभियानमा लागे । न राम्रोसँग पच्छारिएको झ्वाकमा दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाललाई प्रधानमन्त्रीको कुर्सीमा बसाएर उनी चालु संसदीय प्रणालीको हदैसम्मको खिल्ली उडाउन सफल भए । यति मात्र होइन दुनियाँमा चलेको संसदीय प्रणालीको प्राणतत्व शक्ति पृथकीकरणको सिद्धान्त स्थापित मान्यतालाई धुलीसात तुल्याउँदा पनि उनले कांग्रेस एमालेका शेरबहादुर, रामचन्द्र, झलनाथ, ओली जस्ताहरुलाई टोल्याएको टोल्यायी तुल्यादिए । जनमानसमा भ्रषचारी र आचरणच्युत शिरोमणि भनेर कुख्याति कमाएकालाई अख्तियार प्रमुख र सर्वोच्च अदालतमा पु¥याउन पनि मिष्टर प्रण्डचकै निर्णायक हात रहने गरेको जनमानसमा चिनारी स्थापित भइसकेको छ । ठूलो दुर्भाग्य भइरहेको छ । ‘महानिर्वाचन–०७४’ पछि पनि विगत राजनीतिक अस्थिरताको श्रृंखला झन झन कुरुप र घातक भएर दोहोरिने संकेत देखिदै छ । यो नेपाल राष्ट्रको भविष्यका लागि ज्यादै नै डर लाग्दो संकेत हो । विगत अस्थिरताका श्रृंखलाबाट मुलुक भीरको त्यो डीलसा आइपुगेको छ कि अब कुनै पनि अस्थिरता थेग्न सक्ने स्थिति छैन ।

नेपालको इतिहासमा भीमसेन थापाको अन्त्य भएर जंगबहादुरको उदयहुनुसम्मको नौ वर्षको अवधिलाई अस्थिरताको अध्याय अभिलेख भएको पाइन्छ । त्यस नौवर्षमा ८ पटक प्रधानमन्त्री फेरिएका थिए र त्यही मौका छोपेर जङ्गबादुरको जन्म भएको थियो । पंक्तिकारको प्रश्न कतिमात्र हो भने २७ वर्षको २४ पटक प्रधानमन्त्री फेरिएको अस्थिरताले अब के जन्माउने हो ? चेतना भया । अस्तु ।

Leave A Reply

Your email address will not be published.